माघ १५, बिर्तामोड । प्रदेश १ का स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले प्रदेश १ को नामकरण पहिचानको आधारमा हुनुपर्छ भन्ने कुरा आफ्नो बटमलाइन भएको बताइन् ।
किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्य समिति झापाद्वारा शनिवार आयोजित कुसङ् येले तङ्बे तथा कक्फेक्वा तङ्नाम–५०८३ को शुभ–कामना आदान–प्रदान कार्यक्रममा सो कुरा बताएकी हुन् ।
प्रमुख अतिथि स्वास्थ्य मन्त्री लिम्बुले आम जनचासोको विषय रहेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा आफू रहेकोले आफ्नो पहिलो कर्तव्य स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टचार, वेथिति र असहजतालाई उन्मुलन गरेर हुन सक्नेसम्म सुधार गर्दै लैजाने काममा लागिपरेको बताइन् ।
आ–आफ्नो क्षेत्रमा भएको स्वास्थ्य सम्बन्धि वेथिति र भ्रष्टचार भएको गन्ध थाहा पाएमा आफ्नो मन्त्रालय र आफूलाई जानकारी गराई सचेत गराउन समेत आम जनतालाई मन्त्रीले आग्रह गरिन् ।
शुभ–कामना आदान–प्रदान कार्यक्रममा कियाचु झापा जिल्ला शाखाबाट हस्तान्तरण गरिएको ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री लिम्बूले १ न.ं प्रदेशको नामकरण पहिचानको आधारमा नामकरण गर्ने कुरामा आफ्नो पहलकदमी रहने कुरा बताइन् ।
कार्यक्रममा विशिष्ठ अतिथि किरात याक्थुङ् चुम्लुङ्का पूर्व केन्द्रीय उपाध्यक्ष तथा मुन्धुमी अध्येता, लेखक हरि चोङ्बाङ्ले शुभ–कामना मन्तव्य दिदैं येले तङ्बे र कक्फेक्वा तङ्नामको वारेमा प्रष्ट्याए ।
उनले मानव जीवन दर्शनको मूल आधार नै मुन्धुम् भएकोले मुन्धुमको मर्म र धर्म सबैले पालना गर्नसके पूर्खाहरुको सम्मान हुने र लिम्बु समुदायको जीवन शैली युग सापेक्षित प्रगतिमय हुँदैजाने कुरा बताए ।
विशिष्ठ अतिथि कियाचु संघीय सल्लाहकार जीतबहादुर लावती, जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला अध्यक्ष दिपेनवाला राई, याख्खा छुम्माका जिल्ला अध्यक्ष मच्छिन्द्र याख्खा, कियाचु विर्तामोड नगर शाखा अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, कमल गाउँ कार्य समिति अध्यक्ष दिवस लिम्बू लगायतले शुभकामना मन्तव्य राखे ।
कियाचु झापाका उपाध्यक्ष कालीबहादुर खेवाङ्ले स्वागत मन्तव्य राखेको थिए भने कियाचु झापा जिल्ला सदस्य धर्म लक्सम्बाले कार्यक्रमको औचित्य प्रष्ट पारेर थिए ।
कियाचु जिल्ला अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला सचिव प्रेमचन्द्र लिम्बुले सञ्चालन गरेका थिए ।
कार्यक्रममा लिम्बू सांस्कृतिक परिषद् दमकले केलाङ् प्रस्तुत गरेका थिए भने कियाचु कमल गाउँपालिका वडा न.ं ३ का अध्यक्ष हिमाल लिम्बुले पालाम प्रस्तुत गरे ।
कवि विराट किरातीले कविता प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाएका थिए भने कियाचु विर्तामोडका स्थानीय कलाकारहरुले विशेष नाच प्रस्तुत गरेका थिए ।