माङसेबुङमा हुने पवित्रहाङमा कपको खेलतालिका सार्वजनिक - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा हुने पवित्रहाङमा कपको खेलतालिका सार्वजनिक

माघ १६, माङसेबुङ । इलामको माङसेबुङमा माघ २३ गतेदेखि शुरु हुन गईरहेको पवित्रहाङमा कप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

किरात धर्मगुरु आमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसर पारेर प्रत्येक वर्ष आयोजना हुने फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको हो ।

माङ्सेबुङ ५, स्थित आत्मानन्द खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा माङ्सेबुङ गाउँपालिका, इलाम र नवदीप युवा क्लब, मिक्लाजुङ, मोरङ भिड्ने भएको छ ।

इलाम फुटबल संघको प्राविधिक सहयोग तथा माङ्सेबुङ गाउँपालिकाको विशेष सहयोग रहने प्रतियोगितामा पूर्वी नेपालको इलाम, झापा, उदयपुर, सुनसरी, ताप्लेजुङ, धनकुटा, मोरङसहित छिमेकी मुलुक दार्जिलिङको महिला टिमका टोलीहरुको सहभागिता रहने खेलकुद प्रतियोगिताको संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङको भनाई छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६७ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको आयोजना र आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने प्रतियोगितामा यस वर्ष इलामको माङ्सेबुङ गाउँपालिका, मोरङको नवदिप युवा क्लब मिक्लाजुङ, इलामको जनता सेभेन स्पोर्टस् क्लव, झापाको रोयल स्पोर्टिङ क्लब दमक, र कन्काई नगर खेलकुद बिकास समिति झापा, सुनसरीको माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब धरान, ताप्लेजुङको कर्णसिंह सोनाम एफसी, धनकुटा जिल्ला फुटबल संघ, उदयपुरको घाईघाट फुटबल क्लव र पाहुना टोली भारतको एमएफसी दार्जिलिङको सहभागिता रहेनेछ ।

प्रतियोगिताको विजेता टिमले २ लाख १ सय ६७ र उपविजेताले १ लाख १ सय ६७ रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

माङसेबुङमा २०६७ देखि हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्मोत्सवमा यहीँ समयमा पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

सम्बन्धित खवर