पवित्रहाङमा कप : मिक्लाजुङ मोरङको विजयी सुरुवात - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : मिक्लाजुङ मोरङको विजयी सुरुवात

माघ २३, माङसेबुङ । इलामको माङसेबुङमा आज सोमबारदेखि सुरु भएको पवित्रहाङमा कप फुटबल प्रतियोगितामा नवदीप युवा क्लब मिक्लाजुङ मोरङले विजयी सुरुवात गरेको छ ।

माङसेबुङ ५, मा अवस्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको प्रतियोगितामा आयोजक टिम माङसेबुङ गाउँपालिका इलामलाई १–० गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ मोरङले विजयी सुरुवात गरेको हो ।

मिक्लाजुङ मोरङको जितमा पुर्णिमा राईले एक मात्र गोल गरिन । उनले खेलको इन्जुरी समयमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । राई खेलको वुमन अफ द म्याच समेत घोषित भईन ।

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ अन्तरगत भोलि मंगलबार रोयल स्पोर्टिङ क्लब दमक झापा र एम.एफ.सि. दार्जिलिङ भारतबिच खेल हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

नेपाल फुटबल संघका केन्द्रिय सदस्य पेमा लामाको प्रमुख आतिथ्यमा र किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको देव समुपस्थितिमा प्रतियोगिता सुरु भएको हो ।

खेलमा नेपाल र भारतका १० महिला फुटबल टिमहरुले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिमहरुमा माङसेबुङ गाउँपालिका इलाम, रोयल स्पोर्टिङ क्लब दमक झापा, कर्णसिं सोनाम एफ.सि. ताप्लेजुङ, कन्काई नगर खेलकुद विकास समिति झापा रहेका छन् । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरी, गाइघाट फुटबल क्लब उदयपुर, एम.एफ.सि. दार्जिलिङ भारत, जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम, घनकुटा जिल्ला फुटबल संघ र नवदीप युवा क्लब मिक्लाजुङ मोरङ रहेका छन् ।

खेलका विजेताले नगद दुई लाख एक सय उनान्सत्तरी र उपविजेताले एक लाख एक सय उनान्सत्तरी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

सम्बन्धित खवर