भारतलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि बंगलादेशसंग भिड्ने - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि बंगलादेशसंग भिड्ने

माघ २४, दमक । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ ।

मंगलबार ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।

नेपालको जितका लागि अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरिन् । भारत लागि भने अपूर्ण नार्जारीले एक मात्र गोल गरिन् ।

नेपालले एक गोलको सुरुआती अग्रता उल्टाएर भारतमाथि पुनरागमन जित निकालेको हो ।

खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

तर, खेलको दोस्रो हाफमा नेपाल खेलमा फर्कियो । खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याईन् ।

खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाईन् ।

त्यसपछि खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाईन् ।

जितसँगै नेपालले ३ खेलमा ६ अंक जोड्यो । अब नेपालले बिहिबार उपाधिका लागि आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ ।

यता नेपालसँग पराजित भएको भारत प्रतियोगिताबाट बाहिरिएको छ ।

सम्बन्धित खवर