माघ २७, माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगिता अन्तरगत आज शुक्रबार माउण्ड एभरेष्ट स्पोटिङ क्लब सुनसरी र कर्णसिं सोनाम एफ.सि. ताप्लेजुङबिच प्रतिस्पर्धा हुदैंछ ।
माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउसो २ बजे सुरु हुने खेल माउण्ड एभरेष्ट सुनसरी र कर्णसिं सोनाम ताप्लेजुङबिच हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।
बिहिबार भएको खेलमा कन्काई नगर खेलकुद विकास समिति झापालाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै जनता सेभेन इलाम दोस्रो चरणमा प्रवेश गरेको हो ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवाती समयमै कन्काई झापाकि अनिता लम्जेलले गोल गर्दै अग्रता दिलाइन् । त्यपछि जनता सेभेन इलामकि निमिता तामाङले गोल गर्दै खेल बराबरीमा फर्काइन् ।
त्यपछि खेलको निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसक्दा खेल एक एक गोलको बराबरीमा रोकिएपछि नतिजा ट्राइब्रेकरमा धकेलिएको थियोे ।
ट्राइबेकरमा जनता सेभेन इलामको तर्फबाट सिजन भुजेल, निमिता तामाङ, गेल्मी तामाङ, प्याली रोय र सुजु चाम्लिङले गोल गरिन ।
यता कन्काई झापाको तर्फबाट मन्जु राई, एलेन चौधरी, हेमा चौधरी र सुस्मिता चौधरीले गोल गरिन् भने मनिता तुम्रोकको प्रहार इलामकी गोलकिप्पर योमी तामाङले बचाउ गरिन् । इलामकी गोलकिप्पर गुर्मी तामाङ वुमन अफ दि म्याच घोषित भइन् ।
किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को विजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।