आईसीसी विश्वकप लिग टू : घरेलु सिरिजमा नेपालको क्लिन स्विप - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी विश्वकप लिग टू : घरेलु सिरिजमा नेपालको क्लिन स्विप

फागुन १०, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा लगातार चौंथो जित निकाल्दै क्लिन स्विप गरेको छ ।

मंगलबार टियु क्रिकेट मैदानमा सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौंथो जित निकाल्दै सिरिजमा क्लिन स्विप गरेको हो ।

स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले १ सय १ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै अविजित ९५ रनको अर्धशतकीय ईनिङ खेले । उनको यो एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो ।

यस्तै करण केसीले ३७ बलमा अविजित ३१ रन बनाउदा ज्ञानेन्द्र मल्लले २१ रन, कुशल मल्लले १७ रन बनाए भने आसिफ शेखले १२ तथा सन्दीप लामिछानेले ९ रन बनाए ।

यसैगरि ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा सन्दीप जोराले १ रन, दीपेन्द्र सिंह ऐरीले ७ तथा सोमपाल कामीले २ रन बनाए ।

नेपालको जितमा रोहित र करणले नवौं विकेटका लागि अविजित रुपमा ७५ रनको साझेदारी गरे । यो नेपालका लागि नवौं विकेटका लागि भएको कीर्तिमानी साझेदारी हो ।

स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस ग्रेभ्सले २ विकेट, सफियान सरिफ, माइकल लिस्क र ब्रेण्डन म्याकमुलनले समान १÷१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि जर्ज मुन्शेले ५० बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । म्याथ्यु क्रसले ६३ बलमा ४२ रन बनाउँदा ब्राण्डन म्याकमुलनले ३१ रन बनाए । क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२÷२२ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए । करण केसीको नाममा ३ विकेट रहँदा कुशल मल्ल र ललित नारायण राजवंशीले समान १÷१ विकेट लिए ।

यस खेलमा नेपालका बलर करण केसीले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट लिएका छन् ।

यसै खेलमा केसीले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् ।

यस अघि पूर्व कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरेका थिए ।

 

सम्बन्धित खवर