कोशी प्रदेश खारेजीको आन्दोलनले गति लिदैं, माङसेबुङको वडामा तालाबन्दी सुरु - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोशी प्रदेश खारेजीको आन्दोलनले गति लिदैं, माङसेबुङको वडामा तालाबन्दी सुरु

फागुन २१, दमक । पहिचानको विरुद्ध प्रदेश सरकारले घोषणा गरेको ‘कोशी प्रदेश’ खारेजीको आन्दोलनले गति लिएसँगै वडाहरुमा तालाबन्दी सुरु भएको छ ।

आन्दोलनको क्रममा किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको इलाम माङसेबुङ ५ मा आइतबार आन्दोलनकारीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । त्यस्तै माङसेबुङ वडा नम्बर ३ मा वडा कार्यालयले सञ्चालन गरेको सेवा केन्द्र भञ्जाङमा समेत तालाबन्दी भएको छ ।

माङसेबुङस्थित नागरिक समाज र पहिचान सहित प्रदेश नं. १ को पुनः नामाकरण अभियान समितिले पहिचानको आधारमा प्रदेशको नामाकरण नगरिएको विरोधमा वडामा तालाबन्दी गरेको जनाएको छ ।

नागरिक समाजका अगुवा आङ्बुहाङ अबोध अविरलले माङसेबुङमा तालाबन्दी सुरु भएको जानकारी दिएका छन् । उनले केही दिनभित्रै माङसेबुङ र माई नगरपालिकाका सबै वडा र कार्यपालिकाहरुमा तालाबन्दी गरिने बताए ।

आइतबार आन्दोलनकारीहरुले माङसेबुङको बुधबारेस्थित यलम्बर चोक र भञ्जाङ वरिपरी मोटरसाइकल र्यालीसहित कोणसभासमेत गरेका छन् ।


आयोजित कोणसभामा पहिचान सहित प्रदेश नं. १ को पुनः नामाकरण अभियान समितिका सह अध्यक्ष केहेरसिं योङहाङ, अभियानका केन्द्रीय सदस्य होम लिङ्देनले बोलेका थिए । त्यस्तै नागरिक समाजको तर्फबाट चनहाङ शेर्मा र पूर्ण कार्कीढोली, जुनु माखिमलगायतले बोलेका थिए ।

वक्ताहरुले पहिचानको आधारमा प्रदेशको पुनः नामाकरण किरात लिम्बुवान गर्नुपर्ने माग गर्दै सो माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्किने दावी गरेका थिए । उनीहरुले यस आन्दोलनलाई विस्तार गर्दै प्रदेशव्यापी बनाइने समेत चेतावनी दिए ।

कोशी प्रदेश मान्दैनौं, किरात प्रदेश घोषणा गरे, लिम्बुवान प्रदेश घोषणा गर लगायत नाराबाजीसहित गरिएको प्रदर्शनमा ‘कोशी प्रदेश’ लेखिएको कागजसमेत जलाइएको जनाइएको छ ।


आइतबार विभिन्न ठाउँमा प्रदर्शन र कोण सभा

गत फागुन १७ गते पहिचानको चाहनालाई कुठाराघात गर्दै प्रदेश नं. १ लाई कोशी प्रदेश घोषणा गरिएपछि कोशी प्रदेशको विरुद्धमा सुरु भएको आन्दोलन निरन्तर भइरहेको छ ।

यसरी आन्दोलन गर्ने क्रममा आइतबार पनि कोशी प्रदेश खारेजीको माग गर्दैै सुनसरीको इटहरीमा समेत प्रदर्शन भएको छ ।

लिम्बुवान किरात संयुक्त संघर्ष समितिले कोशी प्रदेश विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरी प्रदर्शन गरेका हुन् । त्यसैगरी मोरङ, झापा, इलाम, पान्थर, ताप्लेजुङ, तेह्रथुम लगायत १४ जिल्लामा मात्र नभई काठमाडौंमा समेत प्रदर्शन सहित कोण सभा गरिएको छ ।

प्रदर्शनकारीहरुले प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने र पहिचानको आधारमा लिम्बुवान–किरात प्रदेश नामकरण गर्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए ।

पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दाबाद, कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका थिए । प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेश नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ ।


पहिचान सहित प्रदेश नं. १ को पुनः नामाकरण अभियान समिति र लिम्बुवान किरात संयुक्त संघर्ष समितिले आयोजना गरेको आन्दोलनको कार्यक्रम अनुसार आगामी फागुन २४ गतेसम्म कोशी प्रदेश घोषणाको सशक्त विरोध गर्दै प्रदेश व्यापी कालो झण्डा गाड्ने । कोण सभा गर्ने । स्थानीय तह लगायतका कार्यालयहरुमा तालाबन्दी गर्ने रहेको छ ।

अभियान समितिका अनुसार थप सशक्त कार्यक्रमहरु आगामी समयमा घोषणा हुने छ ।

 

सम्बन्धित खवर