चैत ८, काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आयोजक नेपालले विजयी सुरुवात गरेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा लाओसलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।
नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे ।
खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएका थिए ।
नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
त्यसपछि खेलको ५६ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए ।
कप्तान किरण चेम्जोङको लामो पासमा करिब ३० यार्डबाट बल नियन्त्रणमा लिदै नवयुगले उत्कृष्ट गोल गरे ।
खेलमा नेपालका अनन्त म्यान अफ दि म्याच घोषित भए ।
जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । र, नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
अब लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ । त्यस्तै चैत १४ गते नेपालले भुटानसँग खेल्नेछ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।