चैत १७, काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ ।
शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले हराउदै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको हो ।
नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरे । यस्तै लाओसका फोउचाङभोङ साङ्भिले एक गोल गरे ।
पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेकाेमा दोस्रो हाफको अन्त्यतिर मनिष डाँगीले गोल गर्दै नेपललाई उपाधि दिलाए ।
खेलको १७ औं मिनेटमा लाओसका फोउचाङभोङ साङ्भिले गोल गर्दै १-० को सुरुवाती अग्रता दिलाए ।
त्यपछि खेलको २४ औं मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १-१ को बराबरीमा फर्काए ।
प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको अन्तिम ८८औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २-१ ले जित दिलाए ।
लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । लाओसले दोस्रो स्थानमा रहदै नेपालसँगको फाइनल पक्का गरेको थियो ।
नेपालका मनिष डाँगी म्यान अफ म्याच घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपालका आयुस घलान घोषित भए ।
उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने लाओसले ३ हजार डलर प्राप्त गरेको छ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) , राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राई लगायतले पुरस्कृत गरे ।