जेठ २५, काठमाडौं । दक्षिण एसियाली फुटबल फेडेरेसन साफ च्याम्पियनसिपको १४औं संस्करणका लागि २३ सदस्यीय नेपाल टिमको घोषणा गरिएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले प्रतियोगिता सुरु हुनु २ साताअघि ३ नयाँ खेलाडीलाई समेट्दै नेपाल टिमको घोषणा गरेका हुन् ।
डिफेण्डरहरु विमल पाण्डे र सीमान्ता थापा तथा मिडफिल्डर लाकेन लिम्बु नयाँ अनुहार हुन् । विमल त्रिभुवन आर्मी, सीमान्त जावलाखेल युथ र लाकेन थ्रीस्टार क्लबका खेलाडी हुन् ।
असार ६ देखि भारतको बैंगलुरुमा सुरु हुने साफ च्याम्पियनसिपको समूह एमा नेपाली टिम भारत, कुवेत र पाकिस्तान सम्मिलित कठिन समूहमा परेको छ ।
शहीद स्मारक ए डिभिजन लिग सन्चालनमा रहँदा राष्ट्रिय टिमका खेलाडी रिलिज गर्न एन्फाले गरेको प्रस्ताव ए डिभिजन क्लबहरुले नमानेपछि २७ जेठमा लिग सकिएपछि मात्र राष्ट्रिय टिमले एकीकृत प्रशिक्षण गर्नेछ ।
नेपाल टिमले ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूणर् फुटबल खेल्दैछ । सोही तयारीपछि नेपाल टिम उतैबाट बैंगलुरु प्रस्थान गर्नेछ ।
समूह ए मा रहेको नेपालले ६ असारमा कुवेत, ९ असारमा आयोजक टिम भारत र १२ असारमा पाकिस्तानसँग खेल्नेछ । प्रतियोगिताको समूह बीमा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।
नेपाल टिम
गोलरक्षकः किरणकुमार लिम्बु (कप्तान), दीप कार्की र विशाल श्रेष्ठ
डिफेण्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सीमान्त थापा
मिडफिल्डरः पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने ।
फरवार्डः आयुश घलान, दीपकराज सिंह ठकुरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर