विश्वकप छनोट : अमेरिकामाथि नेपालको जित - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोट : अमेरिकामाथि नेपालको जित

असार ५, काठमाडौं । नेपालले जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा अमेरिकालाई पराजित गर्दै पहिलो जित निकालेको छ ।

मंगलबार जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा भएको खेलमा अमेरिकालाई ६ विकेटले हराउँदै नेपाल विजयी भएको हो ।

अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा भीम सार्कीले १ सय १४ बलमा ७ चौका र १ छक्काको सहयोगमा अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेले ।

ओपनर कुशल भुर्तेलले ५४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए भने ओपनर आसिफ शेख १६ बलमा १२ रन बनाउँदै एलबिडब्लु आउट भए ।

कप्तान रोहित पौडेलले २९ बलमा १६ रन बनाउँदा, कुशल मल्ल १३ बलमा १३ रन बनाउँदै आउट भए । दीपेन्द्रले ३२ बलमा ५ चौका र १ छक्काको सहयोगमा अविजित ३९ रन बनाए ।

अमेरिकाका लागि नोस्तुषा केन्जिगे, सौरभ नेत्राभाल्कर, निशर्ग पटेल र स्टेभन टेलरले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो ।

अमेरिकाका लागि शायन जाहान्गिरले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय ईनिङ खेले ।

ओपनर मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए । यस्तै गजानन्द सिंह ४१ बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रन बनाएर आउट भए ।

निर्शग पटेलले २५ बल खेलेर ८ रन बनाए भने जसदिप सिंहले २५ बलमा १२ रन बनाए ।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । गुलसन झाले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललितनारायण राजवंशी १ विकेट आफ्नो नाममा गरे ।

पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो । नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो ।

नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।

आजको जितसँगै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना बलियो भएको छ ।

सम्बन्धित खवर