विश्वकप छनोट : नेपाल वेस्ट इन्डिजसँग पराजित - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोट : नेपाल वेस्ट इन्डिजसँग पराजित

असार ७, काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ ।

बिहिबार जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको हो ।

कप्तान शाई होप र निकोलस पुरनको उत्कृष्ट शतकको सहयोगमा वेस्ट इन्डिजले नेपाललाई फराकिलो अन्तरमा पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलब ४ ओभरमा अलआउट हुदै २ सय ३८ रन मात्र बनायो ।

नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेलेर आउट भए ।

नेपालका ओपनर आसिफ शेख ३६ बलमा २८ रन बनाए । भीम सार्कीले ७ बलमा २ रन बनाएका थिए । यस्तै गुलसन झा ५८ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाउँदै आउट भए ।

कप्तान रोहित पौडेलले ४३ बलमा ३ चौकाको सहयोगमा ३० रन बनाए भने, करण केसीले २७ बलमा ४ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३ तथा अल्जारी जोसेफ, किमो पल र अकिल होसेनले समान २/२ विकेट लिए । कायल मेयर्सको नाममा १ विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि शाई होप र निकोलस पुरनले शतकीय ईनिङ खेले । कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १ सय ३२ रन बनाए । उनी ललित नारायण राजवंशीको बलमा आउट भए ।

ब्रान्डन किंगले ४२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । निकोलस पुरन ९४ बलमा १० चौका र ४ छक्काको सहयोगमा १ सय १५ रन बनाउँदै दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए ।

नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १/१ विकेट लिए ।

दुई खेलमा अपराजित वेस्ट इन्डिज ४ अंकका साथ समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै २ अंक रहेको नेपाल चौथो स्थानमा झरेको छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । सुपर सिक्समा स्थान बनाउन नेपालले नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने हुन्छ । र, सोमबारको खेलमा नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ ।

सम्बन्धित खवर