असार १२, काठमाडौं । नेपालले भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा जित हासिल गरेको छ ।
मंगलबार बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।
नेपालको जितमा आशिष चौधरीले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले निर्णायक गोल गरेको थियो ।
खेलको ८० औं मिनेटमा आशिषले पेनाल्टी क्षेत्र बाहिरबाट लाकेन लिम्बुको पासमा उत्कृष्ट गोल गरे ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका आशिषको यो नेपालका लागि डेब्यु गोल हो ।
यस जितसँगै नेपालले ३ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।
पाकिस्तानले भने अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।