असार १२, माङ्सेबुङ । इलामको माङ्सेबुङ ५, स्थित माङमिक्तोक्ला टोलमा आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ ।
सोमबार रातको २ बजे स्थानीय हर्कबहादुर चेम्जोङको घरबाट विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
आगलागीबाट पदम इवा, चन्द्र राई, अनु नेम्वाङ , नरहाङ लावती, लोकहाङ लावती, माङगेन्ना सम्बाहाम्फे लिम्बु , हर्कबहादुर चेम्जोङको घर पुर्ण रुपले जलेर नष्ट भएका छन् ।
आगलागीमा घरसहित नगद, सुनचाँदी, लत्ताकपडा, अन्नपात जल्दा ५१ लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिए ।
माङ्सेबुङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय इलामद्वारा नगद राहत वितरण
माङ्सेबुङ गाउँपालिकाले माङ्सेबुङ वडा नम्बर -५ माङमिक्तोक्लामा आगलागी पीडित परिवारलाई तत्कालका लागि प्रति घर दश हजारको रुपैयाँको दरले नगद राहत प्रदान गरिएको जनाएको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष हेमन्त माक्रीहाङ राईले सो नगद राहत प्रदान गरेका हुन ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय इलामले तत्काल ६ प्रभावित आगलागी पीडित परिवारलाई १५ हजार रुपैयाँको दरले नगद राहत उपलब्ध गराएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामको पेजमा लेखेका छन् , ‘अविरल बर्षा र बाटो बिग्रेको कारण प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा प्रमुखहरु घटनास्थलमा पुग्ने प्रयास बिफल भएकोले घटनास्थलमा रहेका सशस्त्र प्रहरी निरीक्षक अजय थापा मार्फत गाउँपालिका अध्यक्षको रोहवरमा नगद राहत वितरण कार्य भएको हो ।’
जिल्ला प्रशासन इलामले बाँकी पीडित परिवारलाई वडाको सिफारिस, प्रहरी प्रतिबेदन सहित आउन सुचित गरिएको छ ।
आगलागी तीन घन्टापछि स्थानीयले नियन्त्रणमा लिएका थिए ।