एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपाललाई - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपाललाई

असार १९, काठमाडौं । घरेलु टोलीलाई फराकिलो अन्तरले पराजित गर्दै मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ ।

मंगलबार मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको फाईनल खेलमा शीर्षक्रमका ब्याटर नरेन भट्टको उत्कृष्ट शतकको सहयोगमा नेपालले २ सय २१ रनको सानदार जित दर्ता गर्दै उपाधि जितेको हो ।

नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ दशमलब ५ ओभरमा ३१ रन बनाउँदै अलआउट भयो।

मलेसियाका लागि मुहम्मद अक्रमले १० रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान अभिषेक तिवारीले ५ विकेट लिदा सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गैरेले समान १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।

नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले ।

ओपनर निरज यादवले ४७ रन बनाउदा र अर्का ओपनर सुर्यांशु कोईरालाले १८ रन बनाए ।

नरेन भट्टले ७६ बलमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्याए । यस्तै सन्तोष यादवले २६ रनको योगदान गरे । अशोक धामीले १२ रन बनाए ।

मलेसियाका लागि मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १/१ विकेट लिए ।

नेपाल लगातार तेस्रो संस्करणमा च्याम्पियन भएको हो । यसअघि नेपालले २०१७ र २०१९ मा यू-१६ को उपाधि जितेको थियो ।

 

 

सम्बन्धित खवर