ला लिगा : सोल्टामाथि बार्सिलोनाको पुनरामगन रोमाञ्चक जित - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : सोल्टामाथि बार्सिलोनाको पुनरामगन रोमाञ्चक जित

असोज ७, काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा रोमाञ्चक पुनरागमन जित हासिल गरेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोमाथि ३–२ को रोमाञ्चक पुनरागमन जित हासिल गरेको हो ।

खेलको ७६ औं मिनेटसम्म २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै अन्तिम १० मिनेटमा तीन गोल गर्दै बार्सिलोनाले ३–२ को जित हासिल गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लेवान्डोस्कीले २ तथा कान्सेलोले एक गोल गरेका थिए । सेल्टाका लगि भने जोर्गेन स्ट्रेन्ड लार्सन र टासोस डौविकसले एक एक गोल फर्काएका थिए ।

खेलको ८१ औं मिनेटमा लेवान्डोस्कीले जोआओ फिलिक्सको पासमा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । त्यसको चार मिनेटपछि कान्सेलोको पासमा उनले बार्सिलोनालाई बराबरीमा ल्याएका थिए । यस्तै खेल सकिन एक मिनेट अघि गाभीको पासलाई सदुपयोग गर्दै कान्सेलोले बार्सिलोनाका लागि विजयी गोल गरे ।

यता खेलको १९ औं मिनेटमा जोर्गेन स्ट्रेन्ड लार्सनले गोल गर्दै सेल्टा भिगोलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ७६ औं मिनेटमा टासोस डौविकसले टोलीको अग्रता दोब्बर बनाएका थिए ।

जित सहित बार्सिलोना १६ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सम्बन्धित खवर