एसियन गेम्समा मंगोलियामाथि नेपालको शानदार जीत - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसियन गेम्समा मंगोलियामाथि नेपालको शानदार जीत

असोज १०, काठमाडौं । चीनको हान्झाउनमा जारी १९औं एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले विशाल अन्तरको शानदार जित निकालेको छ ।

बुधबार बिहन भएको खेलमा नेपालले मंगोलियामाथि २ सय ७३ रनको विशाल जित निकालेको हो ।

३१५ रनको विशाल लक्ष्य सहित मैदानमा आएको मंगोलियाले १३ दशमलव १ ओभरमै अल आउँदा हुँदा मात्र ४१ रन बनाउन सक्यो ।

मंगोलियाका जयन्नसुरेन देवासुरेनको १० रन नै सर्वाधिक रह्यो । उसका अन्य कुनै ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । पाँच खेलाडी शून्यमा पेभिलियन फर्किएका छन् ।

नेपालको जितका लागि करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने समान दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिलो व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १४ रन बनाएको थियो ।

नेपालका लागि युवा ब्याटर कुशल मल्लको शतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतक बनाएका थिए ।

यो टी–२० आई इतिहासकै उच्च योगफल हो । यसअघि अफगानिस्तानले आयरल्यान्ड र चेक रिपब्लिकनले टर्कीविरुद्ध समान २ सय ७८ रन बनाएका थिए ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ र आसिफ शेख १६ रनमा आउट भए । कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा नटआउट रहे । दीपेन्द्रसिंह ऐरीले ९ बलमा ८ छक्कासहित ५२ रनको अविजित योगदान दिए ।

दीपेन्द्र सबै भन्दा छिटो अर्थशतक बनाउने खेलाडी बने । दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन् ।

कुशलले ३४ बलमै शतक पूरा गरेका थिए । योसँगै कुशल टी–२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । यसअघि टी–२० आईमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रम शेखरले समान ३५ बलमा शतक पूरा गरेका थिए । कप्तान राहित पौडेल ६१ रनमा आउट भए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियाको नेपालविरुद्धको खेलमा खराब प्रदर्शन रह्यो । नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ ।

सम्बन्धित खवर