असोज १६, काठमाडौं । नेपाल एसियन गेम्सको पुरुष क्रिकेटमा भारतसँग पराजित भएको छ ।
सोमबार भएको क्वार्टरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो । भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरीएको छ । भारत भने सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारतले प्रस्तुत गरेको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १ सय ७९ रन बनायो ।
ओपनर कुशल भुर्तेलले २८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर अर्का ओपनर आसिफ शेख १० रनमा आउट भए ।
कुशल मल्ल र सन्दीप जोराले समान २९ रन बनाएको नेपालको इनिङ्समा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाएका थिए । सोमपाल कामी ७ र गुल्सन झा ६ रनमा पोविलियन फर्किएका थिए । सन्दीप लामिछाने ५ रनमा आउट हुँदा करण केसी १८ रनमा अविजित रहे ।
भारतका अवि बिश्रोई र अषेश खानले समान ३, अर्शदीप सिंहले २ तथा साइ किशोरले १ विकेट हात पारेका थिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय २ रन बनाएको थियो । भारतका लागि जयसवालले शतकीय इनिङ्स खेले ।
कप्तान ऋतुराज गायकव २५ रनमा आउट भएको खेलमा तिलक वर्मा २ र जितेश शर्मा ५ रनमा पोविलियन फर्किएका थिए । रिंकु सिंहले विस्फोटक ब्याटिङ गर्दै ३७ र शिवम दुवेले २५ रन बनाए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एक एक विकेट हात पारे ।