एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डको लगातार दोस्रो जित - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डको लगातार दोस्रो जित

असोज २२, काठमाडौं । न्युजिल्याण्डले भारतमा जारि आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

न्युजिल्याण्डले आईतबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९९ रनले हराउँदै लगातार दोस्रो जित हासिल गरेको हो ।

न्युजिल्याण्डले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४६ दशमलव ३ ओभरमा अलआउट हुदैं २ सय २३ रन मात्र बनाउन सक्यो ।

नेदरल्याण्ड्सका कालिन एकरमेनले सर्बाधिक ६९ रन बनाउँदा, स्काट एडवर्ड्सले ३० रन, साइब्रान्ड एनगेलब्रेक्टले २९ रन बनाए । तेजा निदामानुरु २१, बास डी लिड १८, म्याक्स ओडाड १६, बिक्रमजित सिंह १२ र आर्यन दत्त ११ रनमा आउट भए ।

न्युजिल्याण्डका मिचेल सेन्टनरले सर्वाधिक ५ विकेट लिए । माट हेनरीले ३ तथा रचिन रवीन्द्रले १ विकेट हात पारिन् ।

सुरुमा ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन बनायो ।

विल योङ्गले ७० रन बनाउँदा टम लाथले ५३ र रचिन रविन्द्रले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । डेरिन मिशेलले ४८ रन बनाएको इनिङ्समा मिचेल सेन्टनरले अविजित ३६, डेवोन कान्वेले ३२ रन बनाए ।

नेदरल्याण्ड्सका आर्यन दत्त, पाउल वेन मिकेरेन, रुलोफ वान डेर मेरवेले समान २ तथा बास डी लीडेले एक विकेट हात पारे ।

न्युजिल्याण्डले लगातार दुई खेलमा जित निकाल्दै ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेदरल्याण्ड्स लगातार दोस्रो खेलमा पराजित बनेको हो ।

 

सम्बन्धित खवर