असोज २४, काठमाडौं । दक्षिण अफ्रिकाले आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।
लखनउस्थित श्री अटल बिहारी बाजपेयी इकाना मैदानमा बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियामाथि १ सय ३४ रनको सानदार जित हात पारेको हो ।
जितको लागि ३ सय १२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४०.५ ओभरमा १ सय ७७ रनमा अल आउट भयो ।
अष्ट्रेलियाका मार्नस लाबुसेनले सर्वाधिक ४६ रनको योगदान दिए । स्तै मिचेल स्टार्क २७ रन, डेविड वार्नर १३ रन, मिचेल मार्श ७ रनमा आउट भए ।
यस्तै स्टिभ स्मिथ १९ रनमा आउट हुदां जोश इंग्लिस ५ रन, म्याक्सवेल ३ रन, प्याट कमिन्स २२, एडम जाम्पा ११ र जोश हेजलवुडले २ रन बनाएर आउट भए ।
दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३ विकेट लिए । मार्को यानसन, केशव महाराज र तबरेज शाम्सीले दुई दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाको जितमा ओपनर डि ककले१ सय ९ रनको शतकीय इनिङ खेलेका थिए । उनको यो विश्वकपमा लगातार दोस्रो शतक हो ।
यस्तै कप्तान टेम्बा बभुमा ३५ रनमा आउट हुदां रास्सी भान डर डुसेन २६ रन, डेन माक्ररमले ५६ रन, हेनरिक क्लासेन २९ रन, मार्को यानसन २६ रन र डेविड मिलर १७ रनमा आउट भए ।
अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले समान दूई दूई विकेट लिए । यसैगरि एडम जाम्पा, जोश हेजलवुड र प्याट कमिन्सले समान एक एक विकेट लिए ।
दक्षिण अफ्रिका लगातार दोस्रो जितका साथ अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।