एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतको लगातार चौंथो जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतको लगातार चौंथो जित

कातिक २, माङसेबुङ । घरेलु टोली भारतले आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार चौंथो जित निकालेको छ ।

बिहिबार पुनेस्थित महाराष्ट्र क्रिकेट संघ रंगशालामा भएको खेलमा बंगालदेशलाई ७ विकेटले हराउँदै भारतले जितको यात्रालाई चौथो खेलसम्म पनि जारी राखेको छ ।

बंगलादेशले प्रस्तुत गरेको २ सय ५७ रनको लक्ष्य भारतले ४१.३ ओभरमा तीन विकेटको क्षतिमा पुरा गर्यो ।

भारतको जितका लागि विराट कोहलीले ९७ बलमा ६ चौका र चार छक्काको मद्दतले अविजित १ सय ३ रनको योगदान दिए । यसैगरी शुभमन गिलले ५३ रन, कप्तान रोहित शर्माले ४८ रन, केएल राहुलले अविजित ३४ रन र श्रेयश अय्यरले १९ रन बनाए ।

बंगलादेशका लागि मेहदी हसन मिराजले दुई र हसन महम्मदले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २ सय ५६ रनको योगफल तयार पारेको थियो ।

बंगालदेशका लागि लिटोन दासले ८२ बलमा सात चौकाको मद्दले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी तन्जिद हसनले ४३ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ५१ रन, महमुदुल्लाहले ४६ रन, मुस्फिकर रहिमले ३८ रन, तोहिद हृदयले १६ रन र नासुम अहमदले १४ रन बनाए ।

भारतका लागि रविन्द्र जडेजा, मोहम्मद सिराज र जसप्रित बुमराहले समान दुई तथा कुलदिप यादव र शार्दुल ठाकुरले समान एक विकेट लिए ।

जितसँगै चार खेलमा ८ अंक जोडेको भारत दोस्रो स्थानमा छ । लगातार तेस्रो पराजय व्यहोरेको बंगलादेशको समान खेलबाट २ अंक छ ।

सम्बन्धित खवर