एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाको लगातार दोस्रो जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाको लगातार दोस्रो जित

कातिक ३, माङसेबुङ । अस्ट्रेलियाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार बेङ्लोरस्थित एम चिन्नाश्वामी क्रिकेट रंगशालामा भएको खेलमा पाकिस्तानलाई ६२ रनले पराजित गर्दै अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको हो ।

अस्ट्रेलियाले दिएको ३ सय ६८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५.३ ओभरमा ३ सय ५ रनमा अलआउट भयो ।

पाकिस्तानका लागि इमान उल हकले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी अब्दुल्लाह शफिकले ६४ रन, मोहम्मद रिजवानले ४६ रन, साउद शकिलले ३० रन, इफ्तिखर अहमदले २६ रन, कप्तान बाबर आजमले १८ रन, मोहम्मद नवाजले १४ रन र शहिन शाह अफ्रिदीले १० रन जोडे ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले ४, कप्तान प्याट कमिन्स र मार्कुस स्टोइनिसले समान दुई तथा मिचेल स्टार्च र जोश हेजलउडले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३ सय ६७ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक १ सय ६३ रनको योगदान गरे । यसैगरी मिचेल मार्शले १ सय २१ रन, मार्कुस स्टोइनिसले २१ रन र जोश इङ्लिसले १३ रन बनाए ।

पाकिस्तानका लागि शहिन शाह अफ्रिदीले ५ विकेट लिए । यसैगरी हरिस रौफले ३ र उस्मान मिरले एक विकेट हात पारे ।

जितसँगै अस्ट्रेलियाले चार खेलमा चार अंक जोडेको छ । दोस्रो पराजय व्यहोरेको पाकिस्तानको पनि समान खेलबाट चार अंक नै छ ।

सम्बन्धित खवर