कातिक ६, काठमाडौं । घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिजमा लगातार चौथो जित निकालेको छ ।
सोमबार मुलपानी क्रिकेट मैदानमा भएको लिग चरणको आफ्नो अन्तिम तथा यूएईसाँगको खेलमा नेपालले यूएईलाई ५ विकेटले हराउँदै लगातार चौथो जित निकालेको हो ।
सिरिजको फाइनल पुगेको नेपालले लिग चरणका चारै वटा खेलमा जित निकाल्न सफल भएको छ ।
यूएईले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल अगावै ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
सुरुवाती तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको नेपालकको जितमा आसिफ शेखले ६२ रनको शानदार अर्धशतक प्रहार गरे ।
यस्तै कप्तान रोहित पौड्यलले ४७ रनको योगदान गरे । दीपेन्द्र सिंह ऐरीले ४० रन र गुल्सन झा १ रनमा नटआउट रहे ।
यसअघि, मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो ।
वृत्त्या अरविन्द र बासिल हमिदले समान ४५ रन बनाएको इनिङ्समा असिफ खानले १८ रन बनाएका थिए । खालिद साहले १२ रन बनाए ।
नेपालका सोमपाल कामी र रविनाश बोहराले समान २ तथा करन केसी र गुल्सन झाले समान १ विकेट झारेका थिए ।
एक खेल अगावै फाइनल पुगेको नेपालले लिग चरणमा सतप्रतिशत जित सहित ८ अंक जोडेको छ । यूएईको ३ खेलबाट २ अंक र हङकङ अंक विहीन छ ।
टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो ।