एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित

कातिक ६, माङसेबुङ । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानमाथि ऐतिहासिक जित निकालेको छ ।

चेन्नईस्थित चिदम्बरम क्रिकेट रंगशालामा सोमबार भएको खेलमा अफगानिस्तानले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक पाकिस्तालाई हराउँदै ऐतिहासिक जित निकालेको हो । यसअघिका सात भेटमा पाकिस्तान विजयी भएको थियो ।

पाकिस्तानले प्रस्तुत गरेको २ सय ८२ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभरमा मात्र दुई विकेट गुमाउँदै पुरा गर्यो ।

अफगानिस्तानका लागि इब्राहिम जाद्रनले सर्वाधिक ८७ रनको योगदान गरे । रहमत शाह ७७ रनमा अविजित रहे । यसैगरी रहमानुल्लाह गुर्बाजले ६५ र कप्तान हस्मतुल्लाह शाहिदीले अविजित ४८ रन बनाए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी र हसन अलीले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ८२ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर अजामले सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी अब्दुल्लाह शाफिकले ५८ रन, शादब खान र इफ्तिखर अहमदले समान ४० रन, साउद शकिलले २५ रन र इमान उल हकले १७ रन बनाए ।

अफगानिस्तानका लागि नुर अहमदले ३, नविन उल हकले दुई तथा मोहम्मद नाबी र अज्मतुल्लाह ओमरजाईले समान एक विकेट लिए ।

यो नतिजासँगै दुवै टोलीको पाँच खेलबाट समान चार अंक भएको छ ।

सम्बन्धित खवर