एसीसी यू–१९ प्रिमियर कपको उपाधि नेपाललाई - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसीसी यू–१९ प्रिमियर कपको उपाधि नेपाललाई

कातिक ७, माङसेबुङ । एसीसी यू–१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ ।

मंगलबार मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको फाईनल खेलमा डकवर्थ लुइस मेथडमा यूएईलाई १९ रनले हराउँदै नेपालले यू–१९ प्रिमियर कपको उपाधि जितेको हो ।

डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो । तर, खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।

उक्त लक्ष्य पछ्याउने क्रममा यूएईका ध्रुव परशरले ५९ रन, आर्यान्स शर्माले ३२ रन, कप्तान आयन अफ्जल खानले ३० रन, ययिन किरण राईले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालको जितमा आकाश त्रिपाठीले सर्वाधिक ४ विकेट लिए । यस्तै सुवाश भण्डारीले तीन, आकाश चन्दले दूई र हेमन्त धामीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो ।

नेपालका लागि कप्तान देवले ९० बलमा सतक बनाएका थिए । उनले ९ चौका र तीन छक्का प्रहार गरेका हुन् । प्रतियोगितामा देवको दोस्रो सतक हो ।

यस्तै ओपनर अर्जुन कुमालले ५५ रन बनाउँदा उत्तम थापाले ५७ रन बनाएका थिए । दीपक बोहराले ५ रन र दिपक प्रसाद डुम्रेले २८ रनको योगदान गरेका थिए ।

युएईका हरित सेटीले सर्वाधिक चार विकेट लिए । आयन अफजल खानले दुई विकेट हात पारेका हुन् ।

 

सम्बन्धित खवर