एकदिवसीय विश्वकपमा भारतको लगातार छैटौं जित, उक्लियो शीर्ष स्थानमा - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकपमा भारतको लगातार छैटौं जित, उक्लियो शीर्ष स्थानमा

कातिक १२, माङसेबुङ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार छैटौं जित निकालेको छ ।

आईतबार लखनउस्थित एकान क्रिकेट मैदानमा भएको खेलमा भारतले साविक बिजेता इङ्ल्याण्ड लाई१०० रनले हराउँदै लगातार छैटौं जित निकालेको हो ।

भारतले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३४.५ ओभरमा १ सय २९ रनमै अलआउट भयो ।

इङ्ल्यान्डका लागि लियम लिभिङ्गस्टोले २७ रन, डेविड विलीले अविजित १६ रन, डेविड मलानले १६ रन, मोइन अलीले १५ रन, जोनी बेरिस्टोले १४ रन, आदिल राशिदले १३ तथा क्रिस वोक्स र कप्तान जोस बट्लरले समान १० रन जोडे ।

भारतका लागि मोहम्मद शामीले चार, जसप्रित बुमराहले तीन, कुलदिप यादवले दुई र रविन्द्र जडेजाले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर मात्र २ सय २९ रन बनाएको थियो ।

भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ८७ रनको योगदान गरे । यसैगरी सूर्यकुमार यादवले ४९ रन, केएल राहुलले ३९ रन र जसप्रित बुमराहले १६ रन बनाए ।

इङ्ल्यान्डका लागि डेविड विलीले तीन, क्रिस वोक्स र आदिल राशिदले समान दुई तथा मार्क उडले एक विकेट लिए ।

भारतले विश्वकपमा २० वर्षपछि इङ्ल्यान्डलाई हराएको हो । भारतले पछिल्लो पटक सन् २००३ मा इङ्ल्यान्डलाई हराएको थियो ।

छैटौं खेलबाट शतप्रतिसत जितका साथ १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको भारतले सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

यसैगरी पाँचौं हारसँगै ६ खेलमा मात्र दुई अंक जोडेको इङ्ल्यान्ड लिग चरणबाटै बाहिरिने लगभग निश्चित भएको छ ।

सम्बन्धित खवर