आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात - Mangsebung News
  • मङ्गलबार, बैशाख २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

कातिक १३, काठमाडौं । आईसीसी टी–२० विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।

सोमबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरलाई ८ विकेटले हराउँदै नेपालले सानदार विजयी सुरुवात गरेको हो ।

सिंगापुरले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा दूई विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ४८ बलमा आठ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी कप्तान रोहितकुमार पौडेलले अविजित ३५ रन, आसिफ शेखले २७ रन र कुशल मल्लले ६ रन बनाए ।

सिंगापुरका लागि अक्षय पुरी र अनन्त कृष्णले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो ।

सिंगापुरका लागि रोहन रंगाराजनले ४६ रन, आर्यवीर चौधरीले ३७ रन, मनप्रित सिंहले २४ रन र अक्षय पुरीले अविजित १३ रन बनाए ।

नेपालका लागि अविनाश बोहराले तीन तथा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले समान दुई विकेट लिए ।

जितसँगै समूह ‘ए’ को नेपालले दुई अंक जोड्दा सिंगापुरले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

अब मंगलबार नेपालले मलेसिया र सिंगापुरले ओमानसँग खेल्नेछन् ।

सम्बन्धित खवर