टी–२० विश्वकप छनोटमा नेपाल ओमानसँग पराजित - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टी–२० विश्वकप छनोटमा नेपाल ओमानसँग पराजित

कातिक १६, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाल ओमानसँग पराजित भएको छ ।

बिहीबार कीर्तिपुर मैदानमा भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको हो ।

ओमानले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै १ सय ४० रन मात्र बनायो ।

नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाए । यस्तै ओपनर कुशल भुर्तेलले २६ रन बनाउनु बाहेक आसिफ शेख ५ रन, सोमपाल कामी १२ रन, कुशल मल्ल १० रन र कप्तान रोहित पौडेल १२ रनमा आउट भएका थिए ।

सन्दीप जोरा १२ रनमा पोविलियन फर्किदा गुल्सन झा ३, सन्दीप लामिछाने २ रन, करन केसी १५ रन र अविनाश १ रनमा अविजित रहे ।

ओमानको जितमा बिलाल खानले ३ तथा सकिल अहमद, मेरान खान र आकिब इलियासले समान २ विकेट र जिसन मसुदले १ विकेट लिए ।

नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

कप्तान जिशान मकसुदले ३२ रन बनाएको इनिङ्समा नसिम खुशीले २५ रन बनाए । यस्तै प्रतिक आठवलेले २४ रन, सकिल अहमदले नटआउट २२ रन र आयान खानले १८ रन बनाए ।

नेपालका लागि करन केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान २ तथा गुल्सन झा र अविनाश बोहराले समान १ विकेट लिएका थिए ।

जित सहित ओमान समूह एको विजेता र नेपाल उपबिजेता बन्दै सेमिफाइनल पुगेको छ । नेपालले फाइनल प्रवेशका लागि अब समूह बीको विजेता युएईसँग शुक्रबार खेल्नेछ ।

सम्बन्धित खवर