एकदिवसीय विश्वकपमा न्युजिल्यान्डमाथि पाकिस्तानको जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकपमा न्युजिल्यान्डमाथि पाकिस्तानको जित

कातिक १८, माङसेबुङ । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डमाथि रोमाञ्चक जित निकलेको छ ।

शनिबार बेङ्लोरस्थित एम चिन्नास्वामी क्रिकेट रंगशालामा भएको खेलमा लाई डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा २१ रनले हराउँदै पाकिस्तानले जित निकालेको हो ।

न्युजिल्यान्डले प्रस्तुत गरेको ४ सय २ रनको लक्ष्य पछ्याइ रहेको पाकिस्तानले २५.३ ओभरमा एक विकेट गुमाउँदै २ सय रन बनाएको अवस्थामा वर्षाका करण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सञ्चालन गर्न सम्भव नभएपछि पाकिस्तान विजयी भएको हो ।

पाकिस्तानका लागि फखर जमान ८१ बलमा ११ छक्का र आठ चौकाको मद्दतले १ सय २६ तथा कप्तान बाबर आजम ६३ बलमा ६ चौका र दुई छक्काको मद्दतले ६६ रन बनाएर खेलिरहेका थिए ।

न्युजिल्यान्डका लागि एक मात्र विकेट टिम साउथीले लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४ सय १ रन बनाएको थियो ।

न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ९४ बलमा १५ चौका र एक छक्काको मद्दतले सर्वाधिक १ सय ८ रनको योगदान गरे ।

यसैगरी केन विलियमसनले ७९ बलमा १० चौका र दुई छक्काको मद्दतले ९५ रन, ग्लेन फिलिप्सले ४१ रन, मार्क च्यापम्यानले ३९ रन, डिभोन कोन्वेले ३५ रन, ड्यारिल मिचेलले २९ रन र मिचेल स्यान्टनरले अविजित २६ रन बनाए ।

पाकिस्तानका लागि मोहम्मद वासिमले तीन, हसन अली, इफ्तिखर अहमद र हरिस रौफले समान एक विकेट लिए ।

जितसँगै आठ खेलमा आठ अंक जोडेको पाकिस्तानले सेमिफाइनल सम्भावनालाई जिवितै राखेको छ । लगातार चौथो पराजय व्यहोरेको न्युजिल्यान्डको पनि समान खेलबाट आठ अंक नै छ ।

सम्बन्धित खवर