एकदिवसीय विश्वकप क्रिकेटमा भारतको लगातार आठौं जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा भारतको लगातार आठौं जित

कातिक १९, काठमाडौं । घरेलु टोली भारतले आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार आठौं जित निकालेको छ ।

आइतबार कोलकातास्थित इडेन गार्डेनमा भएको खेलमा दक्षिण अफ्रिकालाई २ सय ४३ रनले हराउँदै लगातार आठौं जित निकालेको हो ।

भारतले प्रस्तुत गरेको ३ सय २७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रनमै अलआउट भयो ।

दक्षिण अफ्रिकाका लागि मार्को यानसनले १४ रन, रास्सी भान डेर डुसेनले १३ रन तथा कप्तान टेम्बा बाभुमा र डेविड मिलरले समान ११ रन बनाए ।

भारतका लागि रविन्द्र जडेजाले पाँच विकेट लिए । यसैगरी मोहम्मद शामी र कुलदिप यादवले समान दुई तथा मोहम्मद सिराजले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३ सय २६ रन बनाएको थियो ।

भारतको जितमा विराट कोहलीले १ सय २१ बलमा १० चौकाको मद्दतले अविजित १ सय १ रनको योगदान गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा विराटको यो ४९ औं शतक हो । यससँगै उनले सचिन तेन्दुल्करको कीर्तिमान बराबरी गरेका छन् ।

यसैगरी श्रेयश अय्यरले ७७ रन, कप्तान रोहित शर्माले ४० रन, रविन्द्र जडेजाले अविजित २९ रन, शुभमन गिलले २३ रन र सूर्यकुमार यादवले २२ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि लुङ्गी एनगिडी, मार्को यानसन, कागिसो रबाडा, केशव महाराज र तावरेज शाम्सीले समान एक विकेट लिए ।

लगातार आठौं जित निकालेको भारत १६ अंकका साथ शीर्ष स्थानमा कायम छ । दोस्रो पराजय व्यहोरेको दक्षिण अफ्रिका समान खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा छ ।

सम्बन्धित खवर