आत्मानन्द कप भोलीबाट सुरु, उद्घाटन खेलमा माङसेबुङ र भुटान भिड्दै - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप भोलीबाट सुरु, उद्घाटन खेलमा माङसेबुङ र भुटान भिड्दै

मंसिर ७, माङसेबुङ । १६ औं संस्करणको आत्मानन्द कप २०८० अन्तराष्ट्रिय फुटबल प्रतियोगिता शुक्रबार (भोली)बाट सुरु हुने भएको छ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोह २०८० को अवसरमा इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भोलि शुक्रबारदेखि शुरु हुने आत्मानन्द कप खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।

महान सेवा समारोहको अवसरमा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमको सहभागितामा मंसिर ८ देखि १७ मंसिरसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताको तयारी पुरा भएको आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन हुने खेलमा माङसेबुङ गाउँपालिका खेलकुद समिति माङसेबुङ इलाम र बि.वाई.सी. भुटानबीच शुक्रबार अपरान्ह २ वजे शुरु हुने आयोजक समितिका अध्यक्ष आङबुहाङले बताए ।

प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ र गोलबजार स्पोर्टिङ क्लब सिराहा सहभागी हुनेछन् । पाहुना टिमको रुपमा एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटानको सहभागीता हुने भएको छ ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख पाचँ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत संचालन हुनेछ । पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

प्रतियोगिता सञ्चालनका लागि करिब ३० लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष आङबुहाङले बताए । त्यसका लागि किरात धर्मावलम्बी भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।

२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख ११ हजार १ सय ७० रुपैयाँ पुगेको हो ।

सम्बन्धित खवर