आत्मानन्द कप आजबाट, माङसेबुङ र भुटान भिड्दै - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप आजबाट, माङसेबुङ र भुटान भिड्दै

मंसिर ८, माङसेबुङ । इलामको माङसेबुङमा आयोजित १६ औं संस्करणको आत्मानन्द कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आज (शुक्रबार)बाट सुरु हुँदैछ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत आत्मानन्द कपको आज उद्घाटन हुने खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुम अध्यक्ष मनकुमार आङबुहाङले बताएका छन् ।

माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आजबाट सुरु हुने प्रतियोगिताको उद्धघाटन खेलमा घरेलु टोलि माङसेबुङ गाउँपालिका र पाहुना टोलि बिवाईसी भुटानबीच प्रतिष्पर्धा हुनेछ ।

आजबाट सुरु हुने प्रतियोगिता मंसिर १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई प्रमुख अतिथि रहने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ र गोलबजार स्पोर्टिङ क्लब सिराहा सहभागी हुनेछन् । पाहुना टिमको रुपमा एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटान सहभागी छन् ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने समेत आयोजक समितिका अध्यक्ष आङबुहाङले जानकारी दिएका छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछ । पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत सञ्चालन हुनेछ ।

पूतियोगिताको फाईनल खेल मंसिर १७ गते हुनेछ ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्युहरुको नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

सम्बन्धित खवर