आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात

  • आन्छुमे नसान

मंसिर ८, माङसेबुङ । १६ औं संस्करणको आत्मानन्द कप २०८० अन्तरष्ट्रिय फुटबल प्रतियोगितामा घरेलु टोली माङसेबुङ गाउँपालिकाले विजयी सुरुवात गरेको छ ।

इलामको माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज शुक्रबार भएको उद्घाटन खेलमा पाहुना टिम बिवाईसी भुटानलाई १–० गोल अन्तरले हराउँदै माङसेबुङले बिजयी सुरवात गरेको हो ।

माङसेबुङको जितमा ओसन राईले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले खेलको १५ औं मिनेटमा गोल गरेका थिए । घरेलु दर्शकको मसर्थन पाएको माङसेबुङले सुरुआतदेखि नै आक्रामक खेलेको थियो । पहिलो हाफमा १ गोलले पछि परेको भुटानले दोस्रो हाफमा लयमा फर्कने कोसिस गरेपनि हार भने टार्न सकेन ।

खेलको म्यान अफ दी म्याच विजेता टिम माङसेबुङ गाउँपालिकाका ओसन राई घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत शनिबार तिजोक युवाक्लब पाँचथर र धनकुटा जिल्ला फुटबल संघबीच प्रतिष्पर्धा हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत आत्मानन्द कपको फाईनल खेल मंसिर १७ गते हुनेछ ।

प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ र गोलबजार स्पोर्टिङ क्लब सिराहा सहभागी हुनेछन् । पाहुना टिमको रुपमा एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटान सहभागी छन् ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने समेत आयोजक समितिका अध्यक्ष आङबुहाङले जानकारी दिएका छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछ । पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत सञ्चालन हुनेछ ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्युहरुको नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

सम्बन्धित खवर