आत्मानन्द कप : एमएफसी दार्जिलिङ भारत सेमिफाईनलमा - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : एमएफसी दार्जिलिङ भारत सेमिफाईनलमा

  • आन्छुमे नसान

मंसिर ११, माङसेबुङ । पाहुना टिम एमएफसी दार्जिलिङ, भारत इलामको माङसेबुङमा जरि १६ औं संस्करणको आत्मानन्द कप २०८० अन्तरष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज(सोमबार) भएको खेलमा गोलबजार स्पोर्टिङ क्लब सिराहालाई ३–१ गोल अन्तरले हराउँदै दार्जिलिङ भारत सेमिफाईनलमा प्रवेश गरेको हो । यो सँगै सेमिफाईनल समिकरण पुरा भएको छ ।

पाहुना टिम दार्जिलिङ भारतको जितमा सुजल मुण्डाले दूई तथा श्याम मुर्मुले एक गोल गरे । यता गोलबजार सिराहाका लागि मनिष मगरले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा नै दार्जिलिङले सुजल मुण्डाको गोलमा सुरुवाती अग्रता बनाएको थियो । तर खेलको ११ औं मिनेटमा मनिष मगरले गोल गर्दै गोलबजारलाई बराबरीमा फर्काएका थिए ।

त्यसपछि भने दूबै टिम आक्रमक देखिएको खेलमा मुण्डाले पुनः ३७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै दार्जिलिङलाई २–१ को अग्रता दिलाएका थिए । यस्तै खेलको दोस्रो हाफ्को २२ औं मिनेटमा दार्जिलिङका लागि श्याम मुर्मुले गोल गर्दै ३–१ को जित दिलाए ।

गतबर्ष मात्रै सि डिभिजनमा बढुवा भएको गोलबजार सिराहाले आत्मानन्द कपमा पहिलो पटक सहभागिता जनाएको हो । ए डिभिजन लिग बिजेत चर्ज ब्वाईजबाट खेलिसकेका गोल किपर रेम्बो चौधरीको साथमा मैदानमा उत्रेको गोलबजारले हार टार्न नसक्दा पहिलो चरणबाटै बाहिरिनु परेको छ ।

खेलको म्यान अफ दी म्याच विजेता टिम दार्जिलिङका सुजल मुण्डा घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत भोलि(मंगलबार) पहिलो सेमिफाईनल खेलमा घरेलु टिम माङसेबुङ गाउँपालिका र सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङबीच प्रतिष्पर्धा हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद कार्यक्रमका संयोजक तथा आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिएका छन् ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत सञ्चालन भईरहेको आत्मानन्द कपको फाईनल खेल मंसिर १७ गते हुनेछ ।

सम्बन्धित खवर