आत्मानन्द कप : घरेलु टोली माङसेबुङ फाईनलमा - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : घरेलु टोली माङसेबुङ फाईनलमा

  • आन्छुमे नसान

मंसिर १२, माङसेबुङ । घरेलु टोली माङसेबुङ गाउँपालिका आत्मानन्द कपको फाईनलमा प्रवेश गरेको छ ।

आज(मंगलबार) भएको पहिलो सेमिफाईनल खेलमा सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङलाई २–१ को गोल अन्तरले पराजित गर्दै माङसेबुङ फाईनलमा प्रवेश गरेको हो ।

माङसेबुङको जितमा गौरव धिमाल र सक्सेस राईले एक एक गोल गरे । सिरिजंगा मोरङका लागि पारस कार्कीले एक गोल फर्काए ।

खेलको ३२ औं मिनेटमा माङसेबुङका गौरव धिमालले गोल गर्दै सुरुवाती अग्रता दिलाए । उनले बिपक्षी टिमले फल गरेपछि पाएको फ्रिकिक्कको अवसरलाई सदुपयोग गर्दै सिधै जाली चुमाएको थिए ।

पहिलो हाफ सकिदा १–० को अग्रता बनाएको माङसेबुङले दोस्रो हाफमा खेलको चौंथो मिनेटमा नै सक्सेर राईको गोलमा अग्रता दोब्बर बनाएको थियो ।

यसैगरि खेलको २९ औं मिनेटमा सिरिजंगा मोरङका लागि पारस कार्कीले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यसपछि दुबै टिमबाट थुप्रै अवसरहरु प्राप्त गरे पनि गोल गर्न नसक्दा नतिजा माङसेबुङले २–१ ले कब्जा गर्यो ।

खेलको म्यान अफ दी म्याच विजेता टिम माङसेबुङका गोलकिपर आयुस लिम्बू घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत भोलि(बुधबार) दोस्रो सेमिफाईनल खेलमा तिजोक युवा क्लव पान्थर र पाहुना टिम एमएफसी खार्जिलिङ भारतबीच प्रतिष्पर्धा हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन ।

इलामको माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भइरहेको १६ औं संस्करणको आत्मानन्द कप २०८० अन्तरष्ट्रिय फुटबल प्रतियोगिताको फाईनल खेल मंसिर १७ गते हुने खेलकुद कार्यक्रमका संयोजक तथा आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिएका छन् ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा सञ्चालन भईरहेको आत्मानन्द कपको विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

सम्बन्धित खवर