- आन्छुमे नसान
मंसिर १३, माङसेबुङ । तिजोक युवा क्लव पान्थर आत्मानन्द कपको फाईनलमा प्रवेश गरेको छ ।
प्रस्तावित आत्मानन्द रंगशालामा आज(बुधबार) भएको दोस्रो सेमिफाईनल खेलमा एमएफसी दार्जिलिङ भारतमाथि ३–० को शानदार जित निकाल्दै तिजोक पान्थर फाईनलमा प्रवेश गरेको हो ।
फाईनलको यात्रा तय गरे संगै तिजोक पान्थरले उपाधि भिडन्तमा माङसेबुङ गाउँपालिकासँग भेट पक्का गरेको छ । दुबै टिमले उपाधिका लागि आईतबार(मंसिर १७) प्रतिस्पर्धा गर्नेछ ।
तिजोक पान्थरको जितमा बिनोद धमला, निर्देश राई र योगेन कार्कीले एक एक गोल गरे ।
पहिलो हाफ गोल रहित बराबरीमा खेलेको पान्थर दोस्रो हाफमा भने थप आक्रमक भएर मैदानमा उत्रेको थियो । फलस्वरुप खेलको १७ औं मिनेटमा बिनोद धमलाले उत्कृष्ट गोल गर्दै पान्थरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि थप दबाबमा परेको पाहुना टोलीमाथि खेलको २८ औं मिनेटमा पान्थरका निर्देश राईले गोल गर्दै अग्रता दोब्बर बनायो । खेलको अन्तिम ३५ औं मिनेटमा योगेन कार्कीले गोल गर्दै तिजोक पान्थरलाई ३–० को शानदार जित दिलाए ।
खेलको म्यान अफ दी म्याच विजेता टिम पान्थरका बिनोद धमला घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा इलामको माङसेबुङमा सञ्चालन भईरहेको १६ औं संस्करणको आत्मानन्द कप २०८० अन्तरष्ट्रिय फुटबल प्रतियोगिताको विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।