मंसिर १६, पाँचथर । आयोजक पाँचथर फुटवल क्लवले प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप फुटवल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
फिदिम खेलमैदानमा आज (शनिबार)देखि सुरु भएको किरात गोल्डकपको उद्घाटन खेलमा मित्तेरी फुटवल क्लव तेह्रथुमलाई २–० को गोलअन्तरले हराँउदै पाँचथरले विजय सुरुवात गरेको हो ।
पाँचथरको जितमा सुकराज राई र बिशाल भण्डारीले समान एक एक गोल गरेका थिए । खेलको ४३ औं मिनेटमा पाचँथरका लागि सुकराज राईले गोल गर्दै सुरुवाती अग्रता दिलाए । खेलको अतिरिक्त समयमा पाँचथरका बिशाल भण्डारीले गोल गर्दै अग्रता दोब्बर बनाए ।
खेलको अतिरिक्त समयमा तेह्रथुमको तर्फबाट खेलेका दुई विदेशी खेलाडी ग्लोरी र पेपेलाई अभद्र व्यवहार देखाएको भन्दै प्रमुख रेफ्रि राजु थापा मगरले क्रमशः रातो कार्ड देखाएका थिए । त्यसपछि मैदानमा तनाब सिर्जना भएको थियो । तेह्रथुमका अफिसियल मैदानभित्रै प्रवेश गरेका थिए ।
खेलको अत्तिरिक्त समय सकिन करीब दुई मिनेट बाँकि हुँदा मित्तेरी फुटवल क्लव तेह्रथुमको खेलाडीले मैदान छाडेर हिंडेपछि प्रमुख रेफ्रि राजु थापा मगरले अन्तिम ह्वीसेल बजाएसँगै पाँचथर २–० ले विजयी बनेको हो ।
खेलको म्यान अफ् दि म्याज पाँचथर फुटवल क्लबका विशाल भण्डारी बने । उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तरगत भोली (आइतबार) रेडहर्ष फुटवल क्लव इलाम र बिर्तामोड युनाइटेड क्लव झापाबीच हुने आयोजक समितिले जनाएको छ ।
वाइ वाइ मूख्य प्रायोजक रहेको प्रतियोगिताको बिजेताले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैंयाँ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपबिजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैंयाँ ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।