आत्मानन्द कपको उपाधि तिजोक पाँचथरलाई - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कपको उपाधि तिजोक पाँचथरलाई

  • आन्छुमे नसान

मंसिर १७, माङसेबुङ । आत्मानन्द कप अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि तिजोक युवा क्लब पाँचथरले चुमेको छ ।

आइतबार माङसेबुङ गाउँपालिका–५ आत्मानन्द रंगशालामा भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोक पाँचथरले पहिलो पटक उपाधि चुमेको हो । तिजोक अघिल्लो संस्करणमा उपविजेता बनेको थियो ।

खेलको निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि सडन डेथका आधारमा विजेता निर्धारण गरिएको थियो ।

टाइब्रेकरमा पाँचथरका रोशन आङदेम्बे, बिजय राई, जमिन लिम्बू, निर्देश राई र योगेन कार्कीले जाली चुमाएका थिए । यस्तै माङसेबुङका लागि किस्मत लिम्बू, निर्मल राई, च्याङबा तामाङ, तारा लिम्बू र रबिन मगरले गोल गरेका थिए ।

त्यसपछि भएको सडन डेथमा तिजोक पाँचथरका लागि मनिस भण्डारी र रोशन नेपालले गोल गरेका थिए । यता माङसेबुङका लागि भने सन्तोस न्योपानेले गोल गर्दा ओसन राईको प्रहार तिजोकका गोलिकिपर रोशन नेपालले बचाएका थिए ।

विजेता भएसँगै तिजोकले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ सँगै ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् । यता उपविजेता बनेका माङसेबुङले भने नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएका छन् ।

प्रतियोगिताको उत्कृष्ट डिफेण्डर विजेता टिम तिजोकका रोशन आङदेम्बे, उत्कृष्ट गोलकिपर तिजोकका रोशन नेपाल, सर्वाधिक गोलकर्ता माङसेबुङका निर्देश राई घोषित भए । त्यस्तै उत्कृष्ट खेलाडी उपविजेता माङसेबुङका रबिन मगर र उदयीमान खेलाडी उपविजेता माङसेबुङका चन्द्रहाङ लिम्बू घोषित भए । उनीहरुले जनही नगद पाँचरपाँच हजार प्राप्त गरे ।

विजेता र उपविजेता टिम र खेलडीहरुलाई नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बू, माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई र उपाध्यक्ष बिनोद नेम्बाङले पुरस्कृत गरे ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा अवसरमा आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा ८ मंसिरदेखि संचालित प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खवर