झापाको दमकमा इन्द्रेणी कप नकआउट फुटबल प्रतियोगिता हुने - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको दमकमा इन्द्रेणी कप नकआउट फुटबल प्रतियोगिता हुने

मंसिर २२, दमक । झापाको दमक १० सेतुमारीमा इन्द्रेणी कप नकआउट फुटबल प्रतियोगिता २०८० आयोजना हुने भएको छ ।

स्थानीय इन्द्रेणी युवा क्लबको आयोजनामा मंसिर २७ गतेदेखि पुष ३ गतेसम्म सेतुमारी खेलमैदानमा प्रयोगिता सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष सुवास सुवेदीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

दमक १० को पर्यटकीयस्थल इन्द्रेणी ताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी दिँदै अध्यक्ष सुवेदीले भने –‘मानव स्वास्थ्य सचेतना, खेलकुद क्षेत्रको विकास, युवा पुस्तालाई लागु औषधको कुलतबाट जोगाउने र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेर प्रतियोगिता आयोजना गर्न लागेका हौं ।’


प्रतियोगिताका लागि टाइटल स्पोन्सर खोजी गरिएको भन्दै सुवेदीको भनाई छ । ‘हामीले दुई लाख सहयोग गर्ने दाताको नाम यस प्रतियोगिताको सुरुमा उल्लेख गर्ने निर्णय गरेका छौं । टाइटल स्पोन्सको खोजी जारी छ’, उनले भने ।

दमक १० मा इन्द्रेणी युवा क्लबले इन्द्रेणी ताल संरक्षणलगायत विविध सामाजिक कार्य गर्दै आएको जानकारी दिँदै दमक १० का वडा अध्यक्ष राजेन्द्र भण्डारीले युवा पुस्तालाई खेलकुदको क्षेत्रमा आकर्षित गर्ने र प्रोत्साहित गर्ने कार्यमा वडा कार्यालयले सक्दो सहयोग गर्ने बताए ।

‘क्लवका माध्यमबाट स्थानीय युवा साथीहरुको सामाजिक योगदानमा हामी वडाका तर्फबाट उत्साह थप्न तयार छौं’, उनले भने ।


कार्यक्रममा बोल्दै स्थानीय सामाजिक व्यक्तित्व रोहित राई र क्लबका संस्थापक अध्यक्ष नगेन्द्रमणि न्यौपानेले प्रतियोगितामा सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

चार लाख ९५ हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा झापा र मोरङका गरी स्थानीयस्तरका १२ वटा टीमले सहभागिता जनाउने छन् ।

प्रतियोगिता सम्पन्न गर्न दमक नगरपालिकाले एक लाख, वडा नम्बर १० कार्यालयले ५० हजार सहयोग गर्ने बताइएको छ ।

क्लबले देउसीभैलो खेलेर जम्मा गरेको ६० हजार छ सय २२ सहित दुई लाख २० हजार अन्य दाताबाट सहयोग प्राप्त गरिने अनुमान गरिएको प्रतियोगितामा सहभागी टीम शुल्क बापत ६६ हजार संकलन भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।


प्रतियोगिताको प्रथम पुरस्कार वापतको ५० हजार स्वर्गीय मुगाधन राई, स्वर्गीय श्रीमती कृष्णकुमारी राई र मार्शलआर्टका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय राष्ट्र राईको स्मृतिमा रोहित राईले उपलब्ध गराएका छन् ।

त्यस्तै, दोस्रो पुरस्कारको लागि पुरुषोत्तम भट्टराईले ३० हजार उपलब्ध गराएका छन् भने अनुशासित टीमको पुरस्कारको लागि १५ हजार स्वर्गीय मुगाधन राई, स्वर्गीय श्रीमती कृष्णकुमारी राई र मार्शलआर्टका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय राष्ट्र राईको स्मृतिमा रञ्जन राईले उपलब्ध गराउने बताइएको छ । ट्रफी र मेडलतर्फ स्थानीय प्रेम बास्तोलाले ६५ हजार बराबरको सौजन्य गरेका छन् ।

प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः नगद राशी ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण्पत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा सहभागी मध्ये अनुशासित खेल खेल्ने टिमलाई नगर १५ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

व्यक्तिगततर्फ प्रतियोतिाका सर्वोत्कृष्ट खेलाडी, गोल किपर, डिफेन्स र अधिक गोलकर्तालाई ट्रफी प्रदान गरिने छ ।

प्रतियोगिताको उद्घाटनमा स्थानीय राजनीतिक दल र सञ्चारकर्मीबीच मैत्रीपूर्ण खेल आयोजना गरिने क्लबले जनाएको छ ।

 

सम्बन्धित खवर