मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधि माङ्सेबुङलाई - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधि माङ्सेबुङलाई

पुस २७, माङसेबुङ । ओखलढुङ्गा मानेभञ्ज्याङमा भएको प्रदेशस्तरीय स्थानीय तह अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि इलामको माङसेबुङ गाउँपालिकाले जितेको छ ।

आज (शुक्रबार) सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आयोजक मानेभञ्ज्याङ गाउँपालिकालाई २–१ गोलान्तरले हराउँदै माङसेबुङले उपाधि चुमेको हो ।

आशिष लिम्बूको कप्तानीमा मैदान उत्रेको माङसेबुङले उपाधि जितेसँगै नगद पाँच लाखसहित अढाई तोला सुन र दुई सय तोला चाँदीबाट निर्मित ट्रफी तथा मेडल प्राप्त गरेको छ ।

उपविजेतामा चित्त बुझाएको मानेभञ्ज्याङले भने नगद तीन लाख सहित ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ ।

मानेभञ्ज्याङ गाउँपालिकाले वडा ३ उँबु ब्ओकुला खेलमैदानमा आयोजना गरेको कोशी प्रदेशस्तरीय प्रतियोगिता पुस १७ देखि सञ्चालन भएको थियो ।

आफ्ना खेलाडीलाई हौसला दिन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईसहित उपाध्यक्ष विनोद नेम्बाङ, सामाजिक विकास समिति संयोजक तथा वडा ६ अध्यक्ष प्रदीप साङपाङ राई, वडा ४ अध्यक्ष नवीन लिम्बूसमेत प्रतियोगितास्थल पुगेका थिए ।

माङसेबुङका खेलाडीलाई व्यवस्थापन तथा प्रशिक्षणका लागि गाउँपालिकाका प्रवक्ता सुसन राई र माङसेबुङ खेलकुद समिति सदस्य धनकुमार राई सुरुवातदेखि नै खलाडीका साथमा थिए ।

जिल्लाबाट निकै टाडा रहेको मानेभञ्ज्याङसम्म खेलाडी सहभागी गराउन पालिका उपाध्यक्ष नेम्बाङले समन्वय गरेका थिए ।

सम्बन्धित खवर