माघ २७, काठमाडौं । नेपालले एक खेल अगावै क्यानडाविरुद्धको तीन म्याचको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।
नेपालले शनिबार कीर्तिपुर मैदानमा लगातार दोस्रो खेलमा जित निकाल्दै क्यानडाविरुद्धको सिरिज एक खेल अगावै हात पारेको हो ।
क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ८७ र देव खनालले ७६ रनको शानदार इनिङ्स खेलेका थिए । रोहित र देवले तेस्रो विकेटका लागि १ सय ५० रनको साझेदारी गरेका थिए ।
यस्तै ओपनर अनिल साहले ५० रनको आक्रमक अर्धशतकीय इनिङ्स खेल्दा अर्का ओपनर आसिफ शेख १० रन बनाएका थिए । भिम सार्कीले २३ र पवन सरार्फले १४ रन बनाए । कुशल मल्ल र सोमपाल कामी समान ९ रनमा अविजित रहे ।
क्यानडाका हर्ष ठाकर र इश्वरजोत सोहीले समान २ तथा साद बिन जफर र दिलप्रित बाजवाले समान एक विकेट हात पारे ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो ।
आरोन जोनसनले ६५ र नवनीत नवनीतले ४६ रन बनाए । परगत सिंहले ३८ र निकोलस किर्टनले २० रनको योगदान गरे । श्रेयश मोभाले ४०, दिलप्रीत बाजवाले १९ र उदय बागवानले नटआउट २० रन बनाए ।
नेपालका रोहित पौडेल र कुशल मल्लले समान २ तथा सोमपाल कामी, सुर्य तामाङ, आकाश चन्द र पवन सरार्फले समान एक एक विकेट लिएका थिए ।
नेपालले सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार खेल्नेछ ।