प्रथम ओएसिस महिला गोल्डकपको उपाधि मानेभञ्ज्याङलाई - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रथम ओएसिस महिला गोल्डकपको उपाधि मानेभञ्ज्याङलाई

फागुन ७, इलाम । प्रथम ओएसिस महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतले चुमेको छ ।

इलाम सदरमुकाममा आज (सोमबार) भएको फाइनल खेलमा दिपेन्द्र शिखर फुटबल क्लब इलामलाई ३–० गोल अन्तरले हराउँदै मानेभञ्ज्याङ भारतले उपाधि चुमेको छ ।

मानेभञ्ज्याङलाई उपाधि दिलाउन सिम्रन गुरुङले दूई तथा सुस्मिता लेप्चाले एक गोल गरिन् । खेलको नवौं मिनेटमा सिम्रन गुरुङको गोलमा मानेभञ्ज्याङले अग्रता बनायो ।

त्यसपछि खेलको २५ औं मिनेटमा सुस्मिता लेप्चाले गोल गर्दै अग्रता दोब्बर बनाइन् । यसैगरि खेलको ६७ औं मिनेटमा सिम्रन गुरुङले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को सहज जित दिलाइन् ।

उपाधि जितेसँगै मानेभञ्ज्याङले नगद दुई लाख रुपैयाँ सहित ट्रफी, मेडल प्रमाणपत्र हात पार्यो । यता उपविजेतामा चित्त बुझाएको दिपेन्द्र शिखरले भने नगद एक लाख रुपैयाँ सहित ट्रफी, मेडल प्रमाणपत्र मात्र हात पार्यो ।

प्रतियोगिताको बेस्ट गोलरक्षक मानेभञ्ज्याङकी ग्युमरी तामाङ, बेस्ट फरवर्ड मानेभञ्ज्याङकी सिम्रन गुरुङ, बेस्ट डिफेन्डर मानेभञ्ज्याङकी निमिता गुरुङ र बेस्ट प्लेयर मानेभञ्ज्याङकी सोनिका मरक घोषित भए ।

यस्तै हाई स्कोररको पुरस्कार मानेभञ्ज्याङकी सिम्रन गुरुङ र बिर्तामोड युनाइटेडकी समीक्षा मगरले पाए । उनीहरूले सर्वाधिक तीन–तीन गोल गरेका थिए ।

बेस्ट मिडफिल्डर सप्तरीको नमोबुद्ध युथ क्लबकी प्रतीक्षा राई तथा राइजिङ प्लेयर आयोजक ओएसिस फुटबल क्लबकी आयशा राईले पाए । विधागतमा उत्कृष्ट खेलाडीले नगद पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गरे ।

क्लब ओएसिस इलामको आयोजनामा फागुन ३ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपाल र भारतका आठवटा महिला टोलिको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर