झापा गोल्ड कप : एपिएफको विजयी सुरुवात - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापा गोल्ड कप : एपिएफको विजयी सुरुवात

फागुन २०, बिर्तामोड । एपिएफ फुटबल क्लब छैटौँ संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी भएको छ ।

संकटा फुटबल क्लब काठमाडौँलाई टाइब्रेकरमा भाग्यमामनी सावित हुँदै ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफले विजयी सुरुवात गरेको हो ।

एपिएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो ।

संकटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्कियो ।

खेल अवधिभर गोल गर्ने थुप्रै अवसर बनाएको दुबै टिमले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।

खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको विजेताले नगद १३ लाख, उपविजेताले ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । आज आइतबारको खेल नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजकले जनाएको छ ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले प्रतिकुलताका बाबजुद पनि यत्रो प्रतियोगिता आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिए ।

भूमाफियाको आँखा परेको डोमालाल राजवंशी रंगशालाको जमिन फिर्ता ल्याउन सबै नागरिकको सामुहिक प्रयास आवश्यक रहने बताए । उनले एक वर्षभित्र कानुनी अप्ठ्याराहरु भए संशोधन गरेर भए पनि यो जमिन रंगशालाको नाममा ल्याउनुपर्ने उनको धारणा थियो । आगामी संस्करण आफ्नै जमिनममा आयोजना गर्ने दिशामा अगि बढ्ने उनले बताए ।

वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले धन्यवाद ज्ञापन गरेको कार्यक्रम सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेका थिए । प्रतियोगिता आयोजक समितिका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खवर