झापा गोल्ड कप : चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापा गोल्ड कप : चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा

फागुन २२, बिर्तामोड । ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा जारी छैटौँ अर्ना झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा न्यु रोड टिम (एनआरटी) फुटबल क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको हो । क्लब स्थापनाको ९०औँ वर्ष मनाउँदै गरेको एनआरटी क्वार्टर फाइनलबाटै प्रतियोगिताबाट बाहिरिएको हो ।

चर्च ब्वाइजको जितमा खेलको ३६औँ मिनेटमा अवयोमी फकुन्लेले एकमात्र गोल गोल गरेका थिए । पेनाल्टी एरियाबाट गरेको गोल नै अन्तत जितका लागि निर्णायक बन्यो ।

एनआरटी पाँचपटकको लिग विजेता हो । एनआरटीले यो वर्ष स्थापनाको ९०औँ वार्षिकोत्सव मनाउन लागेको छ ।

खेलको प्लेयर अफ दि म्याच विजेता टिम चर्च ब्वाइजका सञ्जित राई (लाहुरे) भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

बुधबारको खेल त्रिभुवन आर्मी एफसी र मछिन्द्र फुटबल क्लबबीच हुनेछ । आर्मी चारपटकको झापा गोल्ड कपको विजेता टोली हो । साविक विजेता आर्मीसँग पहिलोपटक सहभागी हुन लागेको मछिन्द्र एफसीले प्रतिस्पर्धा गर्न लागेको हो ।

फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा विजेता टोलीले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ ।

सम्बन्धित खवर