याक्खालेन माग्दै, डोकेनी नाच्दै याक्खा छुम्माको प्रदेश १ सम्मेलन सम्पन्न - Mangsebung News
  • बिहिबार, साउन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्खालेन माग्दै, डोकेनी नाच्दै याक्खा छुम्माको प्रदेश १ सम्मेलन सम्पन्न

असार ३, दमक । नेपालको पूर्वी पहाडका आदिवासी याक्खा समुदायले प्रदेश नम्बर १ मा संगठन विस्तार गरेका छन् । धनुकुटामा दुई दिनसम्म भेला भएर उनीहरुले याक्खालेन माग गर्दै साङ्राङ्दाङ्मा लाक् (डोकेनी नाच) नाचे ।

संखुवासभाको पूर्व दक्षिण भेग र धनकुटा जिल्लाको उत्तर पश्चिम भेगमा थातथलो रहेको याक्खा समुदाय संगठित भएका हुन् । उनीहरुले असार १ र २ गते धनकुटामा भेला भएर पहिलो प्रादेशिक सम्मेलनमार्फत नयाँ कार्य समिति गठन गरेका छन् ।

सो कार्यक्रमका प्रमुख अतिथि, लालीगुँरास नगरपालिकाका प्रमुख एवम् मुन्दुमविद् अर्जुनबाबु माबोहाङले याक्खा जातिको विषयमा हड्सन पाण्डुलिपिमा समेत उल्लेख भएको हुँदा याक्खा एक प्राचीन जाति भएको बताए । उनले याक्खा जातिका बारेमा थप खोज अनुसन्धानमा तदारुकता देखाउनुपर्ने औँल्याएका थिए ।

संविधानसभा सदस्य अञ्जना ताम्लीको अध्यक्षतामा सम्पन्न सम्मलेनबाट १७ सदस्यीय प्रदेशस्तरीय समिति गठन भएको किरात याक्खा छुम्मका केन्द्रीय उपमहासचिव भरत याक्खाले जानकारी दिए ।

कृष्णबहादुर जिमीको अध्यक्षतामा गठित समितिका उपाध्यक्षमा नवीन जिमी, सचिव नरेन्द्र याक्खा, सहसचिव युवेन तुम्बा र कोषाध्यक्षमा गीताकुमारी याक्खा चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा क्रमशः कुमार लिंखा, धनबहादुर देवान, नवीनकुमार याक्खा, युवराज जिमी, खेमाहाङ सोम्याहाङ, सुमन याक्खा, कृष्ण देवान, लक्ष्मीकुमार जिमी याक्खा, हर्कमाया जिमी, सकरानी याक्खा, यामबहादुर लिम्बुखिम र बुद्धिबहादुर याक्खा छन् । उनीहरु सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।

सम्मेलनमा प्रदेश १ लाई पहिचानका आधारमा पुनः नामाकरण गर्नुपर्ने र याक्खाहरुको थातथलो खुलेको साविक पाँचखपन, पाँच मझिया र दश मझिया भूगोललाई समेटेर संविधानमा उल्लेख भएको याक्खा स्वायत्त क्षेत्रका रूपमा याक्खालेन स्थापना हुनुपर्ने माग गरिएको थियो ।

कार्यक्रममा छुम्माका केन्द्रीय सचिवद्वय हेमराज जिमी र अजय जिमी, कोषाध्यक्ष मानबहादुर याक्खा, सचिवालय सदस्य सोमा याक्खालगायत विभिन्न जिल्लाबाट प्रतिनिधि सहभागी थिए ।

सोही अवसरमा आयोजित खुला साङ्राङ्दाङ्मा लाक् (डोकेनी नाच) प्रतियोगितामा किारत याक्खा छुम्मा धनकुटा नगर समिति प्रथम, छुम्मा सुनसरी जिल्ला समिति दोस्रो, इटहरी नगर समिति तेस्रो भएका थिए भने महालक्ष्मी नगर समिति (मारेकटहरे) र चानुवा डाँडागाउँले सन्तवना पुरस्कार पाएका थिए ।

प्रथम हुनेलाई नगद ३० हजार, दोस्रोलाई २० र तेस्रोलाई १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । सन्तवाना टेलीले समान ५÷५ हजार पुरस्कार पाएका थिए । नृत्य प्रतियोगिताका लागि किरात याक्खा छुम्मा हङकङबाट अध्यक्ष टिबी याक्खाले प्रायोजन गरेका हुन् ।

 

सम्बन्धित खवर