असार २७, माङसेबुङ । इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति सिग्नल इडुना पार्कमा भएको खेलमा नेदरल्यान्ड्सलाई २–१ गोल अन्तरले हराउँदै इङ्ल्यान्ड लगातार दोस्रो पटक फाईनल प्रवेश गरेकोे हो । योसँगै उपाधिका लागि स्पेनसँग भेट पक्का गरेका छन् ।
खेलको सातौं मिनेटमै नेदरल्यान्ड्सले जावी सिमोन्सको गोलमा सुरुवाती अग्रता लिएको थियो । तर, खेलको १८ औं मिनेटमा ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए ।
इङ्ल्यान्डका कप्तान केनलाई डेनजेल डम्फ्रिजले फउल गरेपछि जर्मनीका रेफ्री फेलिक्स ज्वायरले भिडियो असिस्टेन रेफ्री (भिएआर)को मद्दतले इङ्ल्यान्डलाई पेनाल्टी प्रदान गरेका थिए ।
यसैगरी दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा कोल पाल्मरको पासमा ओली वाटकिन्सले गोल गर्दै इङ्ल्यान्डलाई जित दिलाए ।
यसअघि फ्रान्सलाई २–१ गोल अन्तरले हराउँदै स्पेन फाईनलमा प्रवेश गरेको छ ।
उपाधिका लागि सोमबार इङ्ल्यान्डले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।