साउन ८, माङसेबुङ । एसिसी महिला एसिया कपमा भारतसँग नेपाल पराजित भएको छ ।
मंगलबार रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको समूहचरणको अन्तिम खेलमा भारतसँग नेपाल ८२ रनले पराजित भएको हो । यो हारसँगै नेपाल समूहचरणबाटै बाहिरिएको छ ।
पहिलो खेलमै युएईमाथि ६ विकेटको जित हासिल गर्दै निकाल्दै प्रतियोगिताको सुरुवात गरेको नेपाल पाकिस्तान र भारतसँग पराजित हुदै दुई अंकसहित प्रतियोगिताको अन्त्य गरेको छ ।
भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन मात्रै बनायो ।
नेपाका लागि सीता रानामगरले सर्वाधिक १८ रन बनाइन् । त्यस्तै रुबिना क्षेत्रीले १५ रन, इन्दु बर्माले १४ रन, बिन्दु रावलले १७ रन र सबनम राई एक रनमा अविजित रहिन् ।
भारतकी दिप्ती शर्माले सर्वाधिक तीन विकेट लिदा अरुणधती रेड्डी र राधा यादवले समान दुई विकेट र रेनुका सिंहले एक विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७८ रन बनाएको थियो ।
भारतका लागि सफाली बर्माले सर्वाधिक ८१ रन, दयालन हेमालथाले ४७ रन, जेमिमाह रोड्रिगेजले अविजित २८ रन र सञ्जीवन सजनाले १० रन बनाईन् ।
नेपालका लागि सीता रानामगरले दुई र कविता जोशीले एक विकेट लिइन् ।