माङसेबुङ । स्पेनिस कोपा डेल रे को उपाधि रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जितेको छ ।
सेभियास्थित ओलम्पिक स्टेडियममा भएको फाइनलमा रियल मड्रिडलाई ३–२ ले पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे को उपाधि चुमेको हो ।
बार्सिलोनाको जितमा लागि पेड्री, फेरान टोरेस र जुल्स कुन्डेले गोल गरे । रियालका लागि केलिएन एमबाप्पे र औरेलियन चुआमेनीले गोल गरे ।
निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । त्यसको पनि अन्तिम समयमातिर कुन्डेले विजयी गोल गरे ।
खेलमा सुरुवाती अग्रता बार्सिलोनाले लिएपनि रियलले लगातार दुई गोल फर्काउँदै अग्रता लिएको थियो । तर, बार्सिलोनाले बराबरी गोल फर्काएपछि निर्धारित समयमा २–२ को बराबरीमा सकियो ।
बार्सिलोनाले ३२औं पटक कोपा डेल रे को उपाधि जितेको हो ।
बार्सिलोनाले यस सिजनका तीनै एल क्लासिकोमा रियललाई पराजित गरेको छ । जनवरीमा स्पेनिस सुपर कपको फाइनलमा ५–२ र अक्टोबरमा लिग खेलमा रियललाई ४–० ले हराएको थियो ।