विश्व फुटबल इतिहासकै लिजेण्ड डिएगो म्यारोडोनाको निधन - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्व फुटबल इतिहासकै लिजेण्ड डिएगो म्यारोडोनाको निधन

एजेन्सी  । विश्व फुटबल इतिहासकै लिजेण्ड तथा अर्जेन्टिनाका पूर्व कप्तान डिएगो म्यारोडोनाको निधन भएको छ ।

बुधबार ६० वर्षको उमेरमा हृदयघातको कारण पूर्व अट्याकिङ मिडफिल्डर म्यारोडोनाको निधन भएको हो ।

दुई साता अघि मात्र अस्पतालबाट डिस्चार्ज भएका म्यारोडोनाको हृदयघातको कारण निधन भएको बीबीसीले जनाएको छ ।

अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो ।

अघिल्लो महिना मात्र ६०औं जन्मदिन मनाएका उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए ।

अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् । सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए ।

म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । उनकै कप्तानीमा मेक्सिकोमा भएको विश्वकपको फाइनलमा वेस्ट जर्मनीलाई ३–२ ले हराउदै अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो ।

त्यहिँ विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जित निकाल्दा म्यारोडोना नायक बनेका थिए । उनले दुबै गोल गरेका थिए ।

इंग्ल्यान्डविरुद्ध उनले गरेको पहिलो गोललाई ‘ह्यान्ड अफ गड’ भन्ने गरिन्छ । किनकी उनले हातले गोल गरेका थिए । तर, रेफ्रीके नदेख्दा उक्त गोललाई मान्यता दिइएको थियो ।

अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए । उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।

अर्जेन्टिनोस जुनियर्सबाट व्यवसायिक फुटबलको सुरुवात गरेका उनले १९८१ देखि ८२ सम्म बोका जुनियर्सबाट खेलेका थिए । म्यारोडोनाले युरोपियन क्लब बार्सिलोना, नापोली र सेभिया जस्ता युरोपका ठुला क्लबबाट खेलेका थिए ।

त्यसपछि उनी बार्सिलोना आएका थिए । उनले सन् २०८२ देखि ८४ सम्म बार्सिलोनाका लागि ३६ खेलमा २२ गोल गरेका थिए ।

यस्तै १९८४ देखि १९९१ सम्म इटालियन क्लब नापोलीबाट उनले खेलेका थिए । नापोलीका लागि १८८ खेलमा ८१ गोल गरेका थिए ।

नापोलीबाट सेभिया गएका उनले त्यहाँ एक सिजन बिताएका थिए । सेभियामा उनले २६ खेलमा ५ गोल गरेका थिए । उनले क्लब फुटबलको अन्त्य भने १९९७ मा बोका जुनियर्सबाट गरेका थिए ।

तर, म्यारोडोना करिअरको अन्त्यतिर भने लागूऔषधको दुर्व्यसनमा फसेका थिए । लागूऔषध प्रयोगकै कारण उनी पटक पटक जेल समेत परे । उनी कोकिन सेवन गर्ने गर्थे । सन् १९९१ मा उनले १५ महिनाको प्रतिबन्ध समेत भोगेका थिए ।

सम्बन्धित खवर