पहिचानवादीद्वारा योगेश भट्टराई सवार गाडी तोडफोड - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पहिचानवादीद्वारा योगेश भट्टराई सवार गाडी तोडफोड

मंसिर १०, ताप्लेजुङ । पहिचान पक्षधरले आक्रमण गरि नेकपा एमाले सचिव एवं प्रतिनिधि सभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड गरेका छन् ।

ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै सात÷आठ जनाको समूहमा रहेकाहरुले एमाले सचिव भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए ।

आक्रमणकारीले हानेको ढुंगा भट्टराई सवार गाडीको अगाडिको भागमा लागेको र सिसाहरु छरपस्ट भए पनि मान्छे भने कोही घाइते नभएको एमालेले जनाएको छ । भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो ।

यसअघि मध्याह्न एमाले र पहिचान पक्षधर कार्यकर्ताबीच झडप भएको थियो । उनीहरुले भट्टराईको निवास अगाडि प्रदर्शनसमेत गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिबीच दुई पक्षबीच भिडन्त हुनबाट भने रोकिएको थियो ।

एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका भट्टराईलाई उनकै निवास अगाडि कालो झन्डा देखाउँदै नाराबाजीसमेत गरेका थिए ।

सचिव भट्टराईसहित एमालेकै सांसद उर्मिला थेबे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका थिए ।

पहिचानवादीले गत असार १ गते विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए ।

 

सम्बन्धित खवर